Darling Harbour

"मनमा परेका कति गाँठाहरू फुस्किनै खोज्दैनन् । नफुस्किने गाँठोलाई बल गरेर फुस्काउन खोज्यो भने मन रसाउँदो रहेछ । मलाई लाग्थ्यो मन पनि कहा रसाउँछ र ? मन त तरल हुँदो रहेछ । अनि त उक्लिदै उक्लिदै आँखा सम्म पुग्छ । हामी आँखा रसायो भन्ठान्छौँ । रसाउने त मन पो रहेछ ।त्यही मनभित्रको गाँठो माया हो ।
जसलाई चलाइराख्न मन लाग्छ ।
आँसु बगाइराख्न मन लाग्छ ।"

WRITER : NISPRABH SAJI

PUBLISHED BY: BOOK HILL

PAGE: 228

PRICE : 350 

BUY BOOK

डार्लिङ हार्बर | एउटा प्रेमीको कथा

पुस्तकबाट 

हेमजाको मुटु मिलन चोकमा शमीको बडेमानको बोट थियो। वरिपरिका घरहरूमाथि र बाटाभरि यसका पाकेका गेडाहरू झरेर हैरान बनाउँथे । हाम्रो घरबाट अलिकति हिँड्नु परे पनि हामी चोकतिर निस्किरहन्थ्यौं। विक्रमको घर त्यता भएर पनि होला, मलाई त्यता जान मन लागिरहन्थ्यो। 

कहिलेकाहीँ त स्कुल पनि चोककै बाटो भएर जान्थेँ, विक्रमसँगै जान पाइन्छ भनेर। शमीको बोटभरि बकुल्ला बस्थे । साँझतिर बकुल्लाहरू बस्दा बोटमा हिउँ परेजस्तो देखिन्थ्यो तर हिउँले बिस्ट्याउँदैन। यिनीहरूले त रूखमुनि बस्नै नहुने गरी बिस्ट्याउँथे। बाटामा हिँड्दै पनि कतिखेर टाउकामा पिचित्त पार्ने हुन् थाहा हुँदैनथ्यो। चोकै चर्किने गरी कराउँथे। फाँटतिर हिँड्यो भने पनि बकुल्ला खोलाको छेउछाउ र खेतमा टहलिइरहन्थे। चरा त सबै थरीका थिए, बकुल्लाको आकृति भने ठूलो र सेतो भएर होला झट्ट आँखामा अडिन्थ्यो।

हामी ६ कक्षामा पढ्थ्यौं। एक दिन केही मान्छेले चोकबाट बोटतिर आफ्नो बन्दुकको नाल सोझ्याए। मैले त्यसअघि बन्दुक पड्केको प्रत्यक्ष देखेको थिइनँ। बन्दुक पड्केपछि म नराम्रोसँग बिच्किएँ। 

बकुल्लाहरू पनि बोटै छोडेर भागे तर एउटा बकुल्ला गोलीको निसाना बनेछ। बोटमुनि छट्पटाउँदै खसिहाल्यो। पछि थाहा भयो, निशाना बकुल्लाको बच्चालाई लागेछ। बच्चाकै छेउमा गुँडको केही अंश पनि खसेको भेटियो। 

बकुल्लाको बच्चा मरिसकेको थियो। बन्दुकवालाले सबैले थाहा नपाऊन् भनेर हत्तपत्त झोलामा हालिहाल्यो तर अलिअलि मान्छेहरू जम्मा भइसकेका थिए । बित्थैमा बच्चा मर्‍यो भनेर गाइँगुइँ पनि गरे। 

विक्रम भने निकै उत्साहित देखिन्थ्यो तर मलाई निकै नरमाइलो लाग्यो । त्यसभन्दा अगाडि मैले बकुल्लाको बच्चा देखेको थिइनँ । पहिलोचोटि देखेँ, त्यो पनि गोली लागेर मरेको।

मैले विक्रमलाई सोधेँ, ‘के गर्छन् तिनोर्ले तेसलाई?' 'भुटेर खान्चन्', विक्रमले सजिलै भन्यो। मलाई भने होजस्तो लागेन । चराका बच्चालाई पनि खान्छन् कसैले? मैले यो प्रश्न कसैलाई सोधिनँ । विक्रमलाई त सिकारको यो सिलसिलासँग बानी परिसकेको रहेछ।

त्यसकै भोलिपल्ट विक्रमले मलाई आफ्नो गुलेली देखायो । म अचम्ममा परेँ । उसले मलाई पनि उक्सायो।

‘हिँड् मधु, अब हामी पनि चरा मार्न जाऊँ!'

म विक्रमसँग झोक्किएँ।'चरा मार्न हुन्न !'‘कसले भन्यो? रमाइलो हुन्च हिँड्, मसँग गुच्चा पनि छन् !'

त्यसपछि मैले केही भनिनँ। चरालाई ताक्नसक्ने त विक्रम पनि भएको थिएन। गुलेली चलाउन जान्न भने मलाई पनि मन लाग्यो। मलाई कक्षामा एक दुर्ईजना केटाहरूले खूब सताउँथे। सोच्थेँ, गुलेली चलाउन जानेँ भने चरालाई हैन, तिनीहरूलाई ताक्छु। निधारमा टुटुल्को पारिदिन्छु।

विक्रम र म दुवैले गुच्चा राम्रो खेल्थ्यौं। खेलेर गुच्चा जित्थ्यौं पनि । केही दिन साना बाटुला ढुंगाले गुलेलीको अभ्यास भयो । मलाई चक साह्रै मन पथ्र्यो । म स्कुलमा सरले लेखेर बाँकी रहेको टुक्रा पनि दिनदिनै कसैले थाहा नपाउने गरी बटुल्थेँ र घरमा ल्याउँथे। जताततै कोर्थेँ। 

एक दिन बाले झपार्नुभयो र कोर्न छोडेँ तर गोजीमा भने चक बोक्न छोडेको थिइनँ । हामीले पर्खालमा चकले गुच्चाकै आकारको गोलो चिह्न बनायौं र टाढाबाट ताक्न थाल्यौं।

स्कुलमा कथा पढ्नु पथ्‍यो। द्रोणाचार्यले आफ्ना शिष्यलाई सोध्थे, 'के देख्यौ तिमीले?' हामीलाई अर्जुन बन्नु थियो। अरू वरपरको केही कुरा हैन । अघिल्तिरको चराको आँखामात्रै देख्नु थियो तर धनुर्विद्याको होइन, गुलेली विद्याको।

चकले बनाएको चिह्न चराको पुत्ला थियो । कति दिनसम्मै हाम्रो निशाना हामीले कोरेको निशानाको छेउछाउ जान पनिमानेन तर विस्तारै हामी गुलेली चलाउन खप्पिस भयौं। अब भने विक्रम चरालाई नै निशाना बनाउन तम्सियो। 

मेरो उद्देश्य भने गुलेली चलाउन जान्नुमात्र थियो । विक्रमले गुलेली पाँच रुपियाँमा किनेको रहेछ, ७ कक्षामा पढ्ने दाइसँग । गुलेली घरअगाडिको बान्डोमा लुकाउँथ्यौं।

एक दिन कसले दिदीलाई स्कुलमै सुनाइदिएछ, हामीले गुलेली चलाउछौं भनेर । घरमा भन्दिई । बाआमा दुवैले नराम्रोसँग झपार्नुभो । साँझपख थियो, मेरो अनुहार पनि अँध्यारो भयो।

‘चरा मार्नलाई हैन !', मैले डराउँदै आफ्नो सफाइ दिएँ । बाले चरा मार्न हुँदैन भनेर पहिले पनि भन्नुभएको थियो । फेरि दोहोर्‍याउनुभयो । मैले कपाल कन्याउँदै टाउको हल्लाएँ । कोठामा जानुअगाडि दिदी ङिच्च हाँसी।

'कैली !', मैले बाआमाले नसुन्ने गरी दिदीलाई गिज्याएँ।'कैले !', दिदीको जवाफ पनि मुखमै थियो।

त्यसपछि विक्रमले पनि गाली खायो। विक्रम केही दिन त हाम्रो घरै आउन छोड्यो तर उसले गुलेली चलाउन छोडेन। चरैलाई निशाना लगाउन भने उसले अझै सकेको थिएन । उसलाई साह्रै दिक्क लागिरहेको थियो । गुलेली लिएर हिँड्न थालेको दिनहुँ भइसक्यो, अझै एउटा चरो मार्‍या छैन। 

एक दिन हामी स्कुलतिर जाँदै थियौं। बाटाको छेउमा टाँगिएको नांगो बिजुलीको तारमा चमेरो टाँगिएछ । चमेरो यसरी बिजुलीको तारमा करेन्ट लागेर झुन्डिएको पहिले पनि देखेको थिएँ तर यसपटक तार त्यति उचाइमा थिएन। 

चमेरालाई घोरिएर हेरेँ । मेरो एउटा अनौठो बानी थियो । मलाई चरालाई देख्दा पनि यो केटा चरा हो कि, केटी चरी हो भन्ने कुतूहलता हुन्थ्यो । कुकुर, बिराला, गाई, गोरु र भैंसीको झट्ट थाहा हुन्थ्यो। चराको हुँदैनथ्यो। 

मरेको चमेरालाई नजिकैबाट देख्दा मनमनै लाग्यो, यो केटो चमेरो भएको भए यसको पनि केटी चमेरी होली । बच्चा पनि होलान् । हुन त बिहे नभाको पनि हुनसक्छ।

‘ओइ विक्रम, यो केटा हो कि केटी हो?'विक्रम नराम्रोसँग हाँस्यो । हाँसे पनि फरक त उसलाई पनि थाहा थिएन।'चराको पनि केटा र केटी हुन्च त, चरा त चरामात्रै हुन्च !', विक्रम फेरि हाँस्यो । मलाई भने उसको जवाफले चित्त बुझेन।

मैले बालाई एउटा प्रश्न सोधेर हैरान बनाउथेँ। मलाई लाग्थ्यो, चराहरूको पनि बिहे हुन्छ । मलाई अर्को भ्रम थियो । बिहे गरेपछि सबैले बच्चा पाउँछन् । मलाई थाहा थिएन, बच्चा जन्माउनका लागि शारीरिक सम्बन्ध हुनुपर्छ । गर्भ बस्नुपर्छ। 

गाउँमा धूमधाम पञ्चेबाजा बजाए भने सबैभन्दा पहिले म दुलहीको अनुहार हेर्न खोज्थेँ अनि मनमनै भन्थेँ, अब यसको पेट पनि टुम्टुम्ती हुने भो। यसले पनि बच्चा पाउनी भई। हाम्रै घरको दलिनमा गुँड बनाएको गौंथलीका बचेराहरूलाई देख्दा नै हो, मैले बालाई पहिलोचोटि प्रश्न सोधेको।

‘बा, चराको ब्या कसरी हुन्च?'

'लौ, कसले भन्यो तँलाई चराको ब्या हुन्च भनेर?', बाले आफ्नो लामो जुँगा झनै तन्काएर खिस्स हाँस्दै सोध्नुभो।तर मलाई कसैले भनेको थिएन । यत्तिकै मनभित्र उत्सुकता थियो। बा हाँसेपछि मलाई अरू केही सोध्न मन लागेन । नचाहिने प्रश्न गरेछु कि जस्तो लाग्यो । म खुर्रर आँगनतिर ओर्लिएँ ।

‘यता आइज', बाले बोलाउनुभो।

‘बिहे मान्छेको मात्रै हुन्च, चराको हुँदैन।'  'अनि इनोर्ले बच्चा कसरी पाउँचन् त ?', मैले बालाई फेरि प्रश्न गरेँ। यतिखेरसम्म आमा पनि पछाडि आएर उभिइसक्नुभएको रहेछ।'जा तेरी आमालाई सोध्', बाले फेरि हाँस्दै आफ्नो जिम्मा आमातिर सारिदिनुभयो।

आमातिर पुलुक्क हेरेँ । आमा झन् हाँस्नुभो । टाउकोमा बाँध्नुभएको रातो मजेत्रोले मुख छोप्दै । अब भने मलाई थाहा भइसकेको थियो। म फेरि जोकर भएछु।

'भगवान्ले दिन्चन्', आमाले यत्ति भन्नुभो।मनमनै लाग्यो । हो त है । यी चराहरूको बिहे गराइदिने को छन् र ?  भगवान् त होलान् नि । भगवान्ले कतिलाई हेर्न भ्याएका? 

हाम्रो कोठाको भित्तामा सरस्वतीको फोटो टाँसेकी थिई दिदीले । सरस्वती पनि हाँसमाथि बसेर हाँसिरहेकी छन् । हाँस त कति भाग्यमानी । भगवान्ले हाँसलाई अझै बढी माया दिन्छन् कि क्या हो । त्यसैले होला, पोखरीमा हाँसका बच्चा पनि हुलै बाँधेर पौडिन्छन् । गौंथलीको झैं लुकेर गुँड बनाउन पर्दैन तिनीहरूलाई।

त्यस दिनपछि मैले हाम्रो घरको गौंथलीको गुँड हेरिरहन्थेँ। गुँड कौसीमुनिको दलिनमा भएकाले भित्र गौंथलीको आवाज त्यति आउँदैनथ्यो । बेलुकीको खाना खाँदै गर्दा बाले गौंथलीको एउटा बच्चा मरेछ भन्नुभयो । मलाई खानै रुचेन । एकचोटि मात्र देखेको थिएँ तर पनि बच्चा मरेको कुराले नै अत्तालिएँ । आमालाई पनि थाहा रहेनछ।

‘के गर्नुभयो त?', आमाले निधार खुम्च्याउँदै सोध्नुभयो।'खेतमा लगेर गाडिदिएँ', बाले यसो भन्दा दिदी र मैले मुखामुख गर्‍यौं तर केही बोल्न सकेनौं । मुछेको भात यत्तिकै छोड्यौं।

'खाएपछि सुना भए नि हुन्थ्यो नि !', हामीले खाना नखाएको देखेर आमाले बासँग गुनासो गर्नुभयो।'हुन त हो, भनिहालेँ। राख्दे भोलि भुटेर खान्चन्।'

'मुछ्या भात बसाउँछ।'‘फाल्दे न त, कति कन्कन् गरेकी?'

चुठेर माथि कोठामा गएपछि बाआमाको गनगन् सुनिन छोड्यो । भोलिपल्ट बिहानै बाले गौंथलीको गुँड फेरि हेर्नुभयो। मलाई पनि हेर्न मन लाग्यो ।

‘हरे।'

बाले गुँड हेर्न नपाउँदै लामो सास फेरेर हात मुखमा राखेर घोरिनुभयो । बाले हरे भन्नुभयो भने थाहा हुन्थ्यो फेरि केही नराम्रो भयो । बाले गौंथलीको अर्को बचेरा निकाल्नुभयो। गौंथलीको टाउको लुलो थियो । आँखा बन्द थिए। 'तिमोरु खेल्न जाओ।'

बाले हामीलाई भुलाउन खोज्नुभो तर हामी कतै गएनौं । बासँगै खेतमा गयौं। बाले कोदालीले सानो खाल्टो बनाउनुभो । गौंथली खाल्टोमा झन् कुक्रुक्क पर्‍यो। गौंथली र माटाको रङ उस्तै भयो। 

दिदी रुन थाली । दिदी रोएको देखेर बाले दिदीलाई पिठ्यूँमा बोक्न खोज्नुभयो । म पनि रुन थालेँ।'तिमोरु दुइटैलाई बोक्न सक्दिनँ म !', बाको कुरा वास्तै नगरी खेतका कान्लाकान्लै दिदी र म रुँदै दौडियौं।

बा घर आएपछि आमाले बालाई सोध्नुभयो, ‘के भएर मरे होलान् बचेराहरू?' 'राति माउ आएन कि?', बाले यसो भनेपछि मैले गौंथलीको आमा राति नआएर बचेरा मरे भन्ने बुझेँ।

आमा गौंथली कहाँ गई होला? मनमनै लाग्यो, हाम्री आमा हाम्लाई छोडेर कतै नगइदिए हुन्थ्यो।

 

Photo: Redina Tandukar (Reader from Germany)

 

Comments

You may like this